आदरणीय समुदायका सदस्यहरू, दाताहरू तथा प्रायोजक महानुभावहरू,

आज हामी सबै नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (NECC) को इतिहासको एक अत्यन्तै महत्वपूर्ण मोडमा उभिएका छौं। यो केवल भवन निर्माणको कार्य मात्र होइन, यो हाम्रो साझा आस्था, संस्कृति, पहिचान, र भावी पुस्ताका लागि स्थायी विरासत निर्माण गर्ने पवित्र अभियान हो। यो त्यस्तो केन्द्र हुनेछ जहाँ हाम्रो धर्म, भाषा, संस्कार, परम्परा र सामुदायिक भावना पुस्तौँसम्म जीवित रहनेछ। यस पवित्र अभियानमा Promissory Note Program, आर्थिक सहयोग, स्वयंसेवा तथा विभिन्न माध्यमबाट साथ दिनुहुने सम्पूर्ण महानुभावहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। तपाईंहरूको विश्वास, सहयोग र समर्पणले नै NECC को भविष्यको बलियो आधार निर्माण गरेको छ। हाम्रो सपना आज यथार्थको निकै नजिक पुगेको छ, तर यो अभियानलाई पूर्णता दिन अब तपाईंहरूको साथ- सहयोग पहिलेभन्दा अझ बढी आवश्यक छ।

हामीले समुदायको सहयोगबाट हासिल गरेका केही महत्वपूर्ण उपलब्धिहरू:

  • साइट प्लान आधिकारिक रूपमा दर्ता गरिएको छ।
  • सार्वजनिक सुनुवाइ तथा सरकारी मूल्याङ्कन सफलतापूर्वक सम्पन्न भएको छ।
  • पुरानो संरचना हटाएर जुन देखि नयाँ सामुदायिक हल निर्माण कार्य सुरु गर्ने तयारी पूरा भएको छ।

समुदायको सेवा र सुदृढीकरणतर्फका हाम्रा निरन्तर प्रयासहरू:

  • देवघाटधामबाट दक्ष पुजारीलाई स्वागत गरी उत्कृष्ट आध्यात्मिक सेवा प्रदान गरिएको छ।
  • मन्दिरको छाना मर्मत गरी ऊर्जा-दक्ष विद्युतीय ताप प्रणाली जडान गरिएको छ।
  • अस्थायी शिव पोडियम निर्माण गरी साधना तथा पूजाका लागि पवित्र स्थल तयार गरिएको छ।
  • सामुदायिक तरकारी बगैंचा तथा बालबालिकाका लागि खेलमैदान स्थापना गरिएको छ।
  • पुरानो भवनलाई पुजारी निवासका रूपमा रूपान्तरण गरिएको छ।
  • सदस्यहरूको व्यक्तिगत login सुविधासहित नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ।
  • मेरिल्याण्ड नेपाली पाठशालाले आफ्नो सेवा र क्षमता विस्तार गर्दै समुदायलाई उत्कृष्ट योगदान दिइरहेको छ।

सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमहरू:
शिवरात्रि, बुद्ध जयन्ती, देउसी-भैलो, दशैं–तिहार, छठ, तीज, होली, जनै पूर्णिमा, गणेश चतुर्थी, कृष्ण जन्माष्टमी आदि।

शैक्षिक कार्यक्रमहरू:
युवा इन्टर्नशिप, वातावरणीय शिक्षा, पाठशाला वार्षिकोत्सव, साथै Montgomery County GovernmentState of Maryland का विभिन्न कार्यक्रममा सक्रिय सहभागिता।

सामुदायिक तथा सामाजिक सेवा कार्यक्रमहरू:
सामुदायिक श्रद्धाञ्जली सभा, चङ्गा महोत्सव, स्वास्थ्य शिविर, आप्रवासी अधिकारसम्बन्धी अभिमुखीकरण, आमाहरूको सम्मान कार्यक्रम, भलिबल प्रतियोगिता तथा अन्य खेलकुद गतिविधिहरू।

आगामी कार्य दिशा:

साइट प्लान स्वीकृत भएपछि सामुदायिक हल निर्माण, बुद्ध तथा शिव पोडियम निर्माण, व्यवस्थित पार्किङ, नयाँ ट्राफिक प्रणाली, तथा पानी–ढल निकास जस्ता अत्यावश्यक पूर्वाधार निर्माण तुरुन्त सुरु गरिनेछ। यी सबै कार्यहरू पूरा गर्न ठूलो आर्थिक स्रोत आवश्यक छ। आज हामी सबैसँग हाम्रो साझा आस्था र संस्कृतिको स्थायी केन्द्र निर्माण गर्ने ऐतिहासिक अवसर छ। चाहे तपाईंको योगदान सानो होस् वा ठूलो, हरेक सहयोगले यो सपना साकार पार्न अमूल्य भूमिका खेल्नेछ।

  • नेपाली समुदायका लागि स्थायी धार्मिक तथा सांस्कृतिक केन्द्र निर्माण हुनेछ।
  • हाम्रा छोराछोरीले आफ्ना संस्कार र पहिचानसँग जोडिने अवसर पाउनेछन्।
  • भविष्यका पुस्ताहरूका लागि गर्व गर्न लायक साझा धरोहर निर्माण हुनेछ। 

आउनुहोस्, यस ऐतिहासिक यात्रामा हातेमालो गरौं।  हाम्रो साझा विरासत निर्माणमा आजै योगदान गरौं।  

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (NECC) परिवार, जर्मनटाउन, मेरिल्याण्ड